Header Ads

अब जागे गोर्खा सैनिक नाकाबन्दी बिरुद्द !! हेर्नुहोस् कसरी

भारतले डेढ महिनाभन्दा लामो समयदेखि नेपालमाथि लगाएको अघोषित नाकाबन्दीका विषयमा ब्रिटिश गोरखा भूतपूर्व सैनिक संगठन (बिगेसो) ले बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनको ध्यानाकर्षण गराएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बेलायत भ्रमणलाई लक्षित गरी क्यामरुनलाई लिखित ध्यानाकर्षण पत्र बुझाउँदै पूर्वगोर्खा सैनिकहरुले नाकाबन्दी खुलाउने पहल गरिदिन आग्रह गरेका हुन् । ज्ञापनपत्रमा भारतले नेपालमाथि लगाएको नाकाबन्दी गैरकानुनी र बदनियतपूर्ण भएको उल्लेख गरिएको छ ।


भारतले नेपालको तराई क्षेत्रलाई टुक्राउन खोजिरहेको उल्लेख गर्दै यस्ता कदमले नेपाल सिक्कमीकरण, फिजीकरण तथा हालैको क्रिमियाको अवस्थामा पुग्न सक्ने खतरा औल्याइएको छ । क्यामरूनलार्इ बुझाइएको ज्ञापनपत्रको पूर्णपाठः

सम्माननीय प्रधानमन्त्री डेभिड क्यामरन
संयुक्त अधिराज्य बेलायत
१० डाउनिङ स्ट्रीट, लण्डन
सम्माननीय प्रधानमन्त्रीज्यू,
हामी यही १२ नोभेम्बर २०१५ का दिन लण्डनमा हुन लागिरहेको भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीको भ्रमणको पूर्वसन्ध्यामा निम्नलिखित विषयमा यहाँको ध्यानाकर्षण गर्दछौँ ।
 (क) पृष्ठभूमि
१. भारतका प्रधानमन्त्री मोदीले गत २० अगष्ट २०१५ का दिन जारी भएको नयाँ संविधानको विरोधमा तीन महिनादेखि नेपालका विरुद्ध कथित अघोषित नाकाबन्दी गरेका छन् ।
२. कारणका हकमा भारत सरकारका अभिव्यक्तिअनुसार भारतसँग सिमाना जोडिएको दक्षिणी तराईका संयुक्त मधेशी लोकतान्त्रिक मोर्चाका केही नेताका मागहरू पुरा गर्न हालै जारी संविधानमा संशोधन हुनुपर्दछ ।
३. यी नेताका मागहरूमध्ये नयाँ संघीय संरचनाअन्तर्गत तराईमधेशको सिमाना बाँकी सम्पूर्ण नेपालबाट अलग राखी एउटै प्रदेश हुनुपर्ने भन्ने छ,यसलाई पहाड र हिमाल भनेर बुझिन्छ जसका कारण यस भारतवेष्ठित (सन् १९५४ मा सम्पन्न कोशी ब्यारेज सम्झौताको धारा १० ले गलत रूपमा कोसी-गङ्गा नदीमा सीमित गरिएको नेपालको जलयातायातको अधिकार स्थापित गर्ने हो भने नेपालको भूपरिवेष्ठित अवस्था सजिलै हट्छ) मुलुकको अवस्था स्वतः मधेशवेष्ठित हुन पुग्नेछ ।
४. यस मागलाई नेपालमा व्यापकरूपमा हाम्रो मातृभूमिलाई आफू अधिनस्थ राख्ने तथा अथाह जलस्रोत सधैंका लागि कब्जा गर्ने भारतीय रणनीतिका रूपमा हेरिएको छ । यस्ता कदमले नेपाल सिक्किमीकरण (मतदानमार्फत भारतमा सिक्किमको विलय, फिजीकरण (भारतीय आप्रवासीहरूलाई प्रयोग गरी फिजी कब्जा) तथा हालैको क्राइमिया (जनमत संग्रहमार्फत रुसमा समाहित) को अवस्था सिर्जना हुनसक्ने खतरा छ ।
५. भारतले नेपाल र भारतबीच विद्यमान मानवरहित अन्तर्राष्ट्रिय दशगजा सिमानालगायत पारिपट्टि आफ्नै भूमिसमेत ढुङ्गा र पेट्रोल बम हान्न तथा नेपालभित्र सार्वजनिक तथा निजी सम्पत्ति ध्वस्त गर्ने प्रयोजनका लागिप्रदर्शनकारीहरूलाई खुलारूपमा प्रयोग गर्ने छुट दिइरहेको छ ।
६. भारतीय भूभागपारिको नेपाली भूभाग आवतजावत तथा ढुवानीका लागि असुरक्षित छ भन्ने भारत सरकारको दाबी झुठा छ जबकी १,८०० किलोमिटर लामो खुला अन्तर्राष्ट्रिय सिमानाका केही मुख्य नाकाहरूमा मात्र केही बाधा उत्पन्न गरिएको स्थिति हो ।

 (ख) परिणामहरू
७. इन्धन र पेट्रोलियम पदार्थको अभावले नेपालभित्र आवतजावत ठप्प भएको छ । खाद्यान्न र औषधिको अभावले गत अप्रिल २०१५ को नरसंहारकारी भूकम्पबाट तङ्रिँदै गरेको देशमा गम्भीर मानवीय सङ्कटहरू उत्पन्न भइरहेका छन् ।
८. नेपालमा बढ्दो भारतविरोधी भावना छिमेकीहरूबीच हुनुपर्ने सुमधुर सम्बन्ध, सहयोग र ऐक्यवद्धता विपरीत छ ।
९. नेपाल व्यापार तथा पारवहनका लागि अति विकट उच्च हिमाली भेग र लामो दूरीबीच चीनमार्फत अन्य देशहरूसँग विकल्प खोज्न बाध्य भएको छ ।
१०. व्यापार लगायतका अन्य गतिविधिहरू ठप्प बराबर भएकाले देशको अर्थतन्त्र धराशायी अवस्थामा पुगेको छ ।

(ग) अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन
११. भारतका यी कदमहरूले संयुक्त राष्ट्रसङ्घको बडापत्रको धारा २, ३३ र ४१ (जसले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्लाई मात्र अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्ने प्रयोजनका लागि नाकाबन्दीलगायतका शक्तिकोप्रयोग गर्ने अधिकार दिएको छ), समुन्द्रसम्बन्धी संयुक्त राष्ट्रसङ्घीयमहासन्धिको धारा १२५ (जसले नेपालजस्ता भूपरिवेष्ठित राष्ट्रहरूकोसमुन्द्रसम्म पहुँचको अधिकार सुरक्षित गरेको छ) तथा व्यापारमा बाधाअड्चन खडा गर्न नपाइने बारेमा भएका विश्व व्यापार संगठनका कानुनी प्रावधान र नजिरहरूको उल्लङ्घन गरेका छन् ।
१२. यस्तो कार्य दक्षिण एसियाली राष्ट्रहरूको क्षेत्रीय सङ्गठन (सार्क) तथा व्यापार, पारवहन तथा वाणिज्यसम्बन्धी अन्य विभिन्न द्विपक्षीय,बहुपक्षीय÷क्षेत्रीय सम्झौताहरूका भावना र उद्देश्यहरूको प्रतिकूलसमेत छ ।

(घ) गुनासाहरू
१३. संयुक्त अधिराज्य बेलायत सरकारले ध्यान दिन जरुरी छ कि सन् १८१६ को सुगौली सन्धिताकादेखि नेपालले भोगिरहेको कथित भूपरिवेष्ठित हुनुको पीडा बृटिश–भारत सरकारले अवलम्बन गरेको औपनिवेशिक राजनीतिको परिणाम हो ।
१४. भारत सरकार तथा उसका सत्ताधारीहरू नेपालका युवाहरूले भारतीय सेना (गोर्खा राइफल आदि) मार्फत पाकिस्तान र चीनजस्ता नेपालका मित्र राष्ट्रहरूविरुद्ध भएका विभिन्न रक्तपातपूर्ण युद्धमैदानहरूमा गरेका अत्यन्तै दर्दनाक त्यागप्रति अनभिज्ञ भएझैँ देखिन्छ । नेपाली युवाहरूले विवादित काश्मिरमा भइरहेको भारत–पाकिस्तान द्वन्द्वमा अहिले पनि भारतको रक्षाका लागि आफ्नो जीवन आहुति दिइरहेका छन् ।
१६. नयाँ पुस्ताका नेपाली युवाहरूलाई महशुस भइरहेको छ कि नेपाल भूपरिवेष्ठित हुनु तथा अन्यायपूर्ण एवं गैरकानुनी सुगौली सन्धि (१८१६) तथा आजसम्म पनि कायम गोर्खा भर्तीसम्बन्धी त्रिपक्षीय सम्झौता (१९४७) का कारण नेपाल अविकसित हुनुका पछाडि बेलायत नैतिकरूपमा जिम्मेवार छ । जसले आफ्नो जीवन दिए उनीहरूलाई निवृत्तिभरण र सुविधाका सवालमा असमान व्यवहार गर्नु भनेको उनीहरूको त्यागमाथि भएको धोकाहो ।
१७. नेपाललाई सुनियोजित ढङ्गले भौगोलिक रूपमा बाहिरी संसारबाट पूर्णतः अलग राख्न बेलायतले भारत छोड्नेबेलामा सँधैका लागिभारतवेष्ठित तथा भूपरिवेष्ठित अवस्थामा राख्दासमेत नेपाल र नेपाली जनताले भारत र संयुक्त अधिराज्य बेलायतमाथि पूर्णरूपमा विश्वास र भरोसा गरे । दुवै देशले नेपाल र नेपाली जनतालाई उनीहरूका रणनीतिक स्वार्थहरू पुरा गर्ने प्रयोजनका लागिमात्र उपयोग गरे ।

 (ङ) अनुरोध
१८. हामी सम्माननीय प्रधानमन्त्रीसमक्ष नेपालका विरुद्ध लादिएको नाकाबन्दी तथा अन्य बाधाअवरोधहरू प्रचलित द्विपक्षीय तथा बहुपक्षीय सम्झौता तथा अन्तर्राष्ट्रिय कानुन (संयुक्त राष्ट्रसङ्घ तथा विश्व व्यापार संगठनका कानुनी दस्ताबेजहरू जसमा दुवै देश राज्यपक्ष छन्) नैतिक तथा कानुनीरूपमा बाध्यात्मक दायित्वविपरीत भएकाले तत्काल हटाइने कार्यका लागि अनुरोध गर्दछौँ ।
१९. प्रचलित युरोपेली तथा अन्तर्राष्ट्रिय मानवअधिकार कानुन, सिद्धान्त र व्यवहारविपरीत कायम सन् १९४७ को गोर्खा भर्तीसम्बन्धी त्रिपक्षीय सम्झौता पुनरावलोकन गरी पाउँ ।
२०. विनाशकारी भूकम्प तथा हालैको नाकाबन्दीका कारण उत्पन्न हृदयविदारक अवस्था र कमजोर स्थितिबाट तङ्रिनका लागि नेपाललाई आवश्यक मानवीय सहयोग तथा सहायता उपलब्ध गराई पाउँ ।
हाम्रो मातृभूमि नेपालसँग सम्बन्धित सरोकार र यस अनुरोधलाई गम्भीर एवं सकारात्मकरूपमा लिइदिनु भएकोमा सम्माननीय प्रधानमन्त्रीप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौँ । - नेपालसन्देस

No comments

Powered by Blogger.