Header Ads

तीर्थालुका कारण व्यापार दोब्बरले बढ्यो

भीमदत्तनगर, ८ चैत । गत महिनाको फागुपूर्णिमादेखि भारतको चम्पावतमा पूर्णागिरि मेला सुरु भएसँगै कञ्चनपुरको महेन्द्रनगर बजार र ब्रह्मदेव बजारको कारोबार दोब्बरले बढेको छ । पूर्णागिरी दर्शन गर्न आउने भारतीय तीर्थालु दैनिक उपभोग्य सामानका साथै लत्ताकपडा खरिद गर्ने गरेका कारण यहाँको व्यापार दोब्बरले बढेको हो । भारतीय तीर्थालुहरु पूर्णागिरी माताको दर्शनपछि सिद्धनाथ मन्दिरको दर्शन गर्न ब्रह्मदेवस्थित प्राचीन सिद्धनाथ बाबा मन्दिर र महेन्द्रनगरस्थित सिद्धनाथ मन्दिरमा दैनिक हजारौँको सङ्ख्यामा आइरहेका छन् । दर्शनपछि उनीहरु लत्ताकपडाका साथै सबैभन्दा बढी ‘भ्यालवेट’ खरिद गर्ने गरेको व्यापारीको भनाइ छ ।
चैत नवरात्रि सुरु भएसँगै तीर्थालु आउने क्रम अझ बढेकाले कारोबार झन बढ्ने ब्रह्मदेव बजार व्यवस्थापन समितिका अध्यक्ष श्यामदत्त जोशीले बताएका छन् । “नब्बे प्रतिशत भारतीय ग्राहककै भरमा ब्रह्मदेवको व्यापार चलेको छ” अध्यक्ष जोशीले भने– “मेलाका कारण अरु बेलाभन्दा कारोबर बढ्छ ।” उनले नवरात्रिको नौ दिनसम्म सबैभन्दा बढी तीर्थालुको भीडभाड हुने गरेको बताए । “फागुनबाट सुरु भएको मेला असारसम्म चल्छ”, जोशीले भन्नुभयो– “मेला अवधिभर कारोबार राम्रै हुन्छ ।”
उनले मेलाको समयमा मासिक डेढ करोडभन्दा बढीको कारोबार हुने गरेको जानकारी दिएका छन् । “अहिले दैनिक एकजना व्यापारीले रु १० देखि २५ हजारसम्म प्रतिदिन कारोबार गर्छ ।” डेढ दशकदेखि ब्रह्मदेव बजारमा व्यापार गर्दै आएका नरबहादुर भण्डारीले भने– “दैनिक पाँच हजार तीर्थालु दर्शन गर्न आएकाबेला सामान खरिद गर्छन् ।” हाल ब्रह्मदेव बजारमा दैनिक लाखौँ रुपैयाँको सामान बिक्री भइरहेको छ । भारतीय तीर्थालुले कम्बल, भ्यालवेट, कस्मेटिक समान बढी खरिद गर्ने गरेको व्यापारी भण्डारीले बताएका छन् । “पहिले क्यामेरालगायतका सामान बढी किन्थे”, उनले– “चिनियाँ सामान भारतमै पाउन थालेपछि किन्न छाडे ।” महेन्द्रनगरस्थित जगदम्बा वस्त्रालयका सञ्चालक इन्द्रबहादुर बमले मेलाको समय भएकाले कारोबारप्रति सन्तुष्टी व्यक्त गरे। “दैनिक कम्तिमा रु १० हजारको बिक्री भएकै छ ।” व्यापारी बमले भन्नुभयो– “कहिलेकाँही रु २५÷३० हजारसम्म पनि कारोबार हुने गरेको छ ।” सिद्धनाथ मन्दिरको दर्शन नगरे पूर्णागिरी दर्शन अधुरो हुने धार्मिक विश्वासका कारण नेपाली तथा भारतीय तीर्थालु दर्शनका लागि सिद्धनाथ मन्दिर पुगिरहेका छन् ।
“दैनिक छ÷सात हजार भारतीय तीर्थालु दर्शन गर्न आइरहेका छन् ।” ब्रह्मदेवस्थित सिद्धनाथ मन्दिरका पुजारी जगदिशानन्द उप्रेतीले भन्नुभयो– “नवरात्र सुरु भयो, अब नेपाली तीर्थालुको पनि घुइँचो लाग्छ ।” पूर्णागिरी माताको दर्शन गरेपछि सिद्धनाथको दर्शन गरे मनोकामना पूरा हुने धार्मिक विश्वास रहेकाले पनि तीर्थालु हरेक वर्ष मेलाको अवधिमा यहाँ आउने गरेको उनले बताए । कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष गणेशदत्त जोशीका अनुसार पूर्णागिरी मेला अवधिमा यहाँको व्यापारमा ५० प्रतिशतले वृद्धि हुने गरेको छ । “यो व्यापारको सिजन जस्तै हो”, उहाँले भन्नुभयो– “तीर्थालुमध्ये भारतीय नागरिक किनमेल बढी गर्छन् ।”

No comments

Powered by Blogger.