Header Ads

अर्कैको जग्गा बेच्ने मालपोत अधिकृत, बडासचिवसहित कर्मचारीलाई ६ बर्ष कैदको फैसला

नक्कली नागरिकता र लालपुर्जा बनाएर अर्कैको जग्गा बेच्ने कृष्णबहादुर श्रेष्ठलाई जिल्ला अदालत कास्कीले ६ वर्ष कैद र ४ लाख ५० हजार जरिवाना फैसला गरेको छ । न्यायाधीश नरिश्वर भण्डारीको इजलासले मंगलबार कृष्णबहादुर, उनलाई सहयोग गर्ने अनिता शर्मासहित ४ कर्मचारीलाई कैदसहित नगद जरिवाना फैसला गरेको स्रेस्तेदार दीनबन्धु बरालले बताए ।

बरालका अनुसार श्रेष्ठलाई सहयोग गरेकी अनिता शर्मालाई १ वर्ष कैद र ४ लाख ५० हजार जरिवाना फैसला भएको छ । जिल्ला मालपोत कार्यालय कास्कीका तत्कालीन मालपोत अधिकृत केशव भट्टराई, कर्मचारीहरु लक्ष्मी पौडेल, खेमनारायण पौडेललाई १ महिना  कैद र ४ लाख ५० हजार रुपैयाँ जरिवाना भएको छ । किर्ते नागरिकता र लालपुर्जा बनाउन सिफारिस गर्ने पोखरा उपमहानगरपालिका – ८ का वडा सचिव दीपबहादुर कोइरालालाई ६ महिना कैद र ४ लाख ५० हजार रुपैयाँ फैसला भएको स्रेस्तेदार बरालले जानकारी दिए ।

मुद्दामा प्रतिवादी बनाइएकी पोखरा उपमहानगरपालिकाकी अधिकृत कल्पना बरालसहित १० जनाले भने सफाइ पाएका छन् । सफाइ पाउनेमा सीता गुरुङ, मञ्जु गुरुङ, नीलबहादुर कार्की, हेमकुमार तिमिल्सिना, मदनकुमार पौडेल, कृष्ण पनेरु, शिवप्रसाद पौडेल, दीपक शर्मा र ईन्द्र शर्मा छन् । कृष्णप्रसाद र अनीता जिल्ला अदालतको २०७० मंसिर १४ को आदेशले पुर्पक्षका लागि थुनामा थिए । स्याङ्जाका रंगप्रसाद श्रेष्ठको पोखरा–८ जाल्पारोडस्थित ११ आना जग्गा कृष्णले आफू रंगप्रसाद बनी पर्वत तिलहारका रत्नबहादुर खत्रीलाई २०७० असोज २१ गते बिक्री गरेका थिए ।

रंगप्रसादकै नाममा नागरिकता बनाई जग्गा बिक्री गरेको थाहा भएपछि कास्की प्रहरीले उनीलगायत २१ जनाविरुद्ध कीर्ते ठगीको मुद्दा दायर गरेको थियो । काठमाडौंमा मजदुरी गर्दै आएका काभ्रे बन्थलीका कृष्णलाई जग्गाधनी रंगप्रसाद बनाई भएको ठगीका वास्तविक योजनाकारभने अझै फरार छन् ।

प्रहरीले २१ जनाविद्धरु मुलुकी ऐन ठगीको १ र ४ महलअनुसार हदैसम्मको कारबाही माग गर्दै २०७० मंसिर ११ मा मुद्दा दायर गरेको थियो । वास्तविक जग्गाधनी स्याङ्जा जगतभन्ज्याङका रंगप्रसाद श्रेष्ठले स्याङ्जाबाटै २०३६ सालमा लिएको नक्कली नागरिकता बनाइ रंगप्रसादको नाममा कृष्णबहादुरको फोटो टाँसेकाथिए ।

मालपोतको रेकर्डअनुसार रंगप्रसादले २०४७ सालमा उक्त जग्गा किनेका थिए । जग्गाधनी नेपालमा नभएको सुइँको पाएको ठग गिरोहले मजदुरी गर्ने कृष्णलाई प्रयोग गरेको अनुमान छ । उनको फोटो टाँसेर रंगप्रसादका नाममा नागरिकता र फोटोबिनाको लालपुर्जा तयार भएपछि जग्गा कारोबारमा स्याङ्जाकै अनिताले सघाएकी थिइन् । उनीहरुले ९५ लाख रुपैयाँमा जग्गा बेचेका थिए । मालपोतको रेकर्डमा भने २७ लाख रुपैयाँमा जग्गा किनबेच भएको उल्लेख छ । २०७० असोज २१ गते किनेको जग्गामा ठगी भएको भेउ पाएपछि क्रेता रत्नबहादुरले कात्तिक १५ गते वास्तविक धनीका नाममा फिर्ता गरिदिएका छन् ।

फोटोबिनाको लालपुर्जा भएका खण्डमा जग्गा कारोबार गर्न मालपोतले स्थानीय निकायबाट पहिचान खुलाएको सिफारिस माग्ने गरेको छ । पोखरा–८ को वडा कार्यालयले कृष्णबहादुर श्रेष्ठको फोटो टाँसी उनलाई रंगप्रसाद भनी नगरपालिकामा सिफारिस गरेको थियो । त्यसकै आधारमा नगरपालिकाबाट सिफारिस भई आएका कागजात र नागरिकता हेरी मालपोतले जग्गा पास गराएको थियो । वडा कार्यालयले जग्गाको हालसाविक मुचुल्का तयार पर्दा राखेका ६ जना साक्षी पनि यो मुद्दामा तानिएका थिए ।



स्रोत : समाधानन्यूज

No comments

Powered by Blogger.